काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पार्टीको नीति र नेतृत्व परिवर्तन गर्न आवश्यक पर्ने सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरू उपस्थित भएको आयोजक पक्षले दाबी गरेको छ।
आइतबारदेखि काठमाडौंमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रको अन्त्यमा आयोजकले कुल प्रतिनिधिमध्ये ६२ प्रतिशतभन्दा बढीले नाम दर्ता गराएको जानकारी दिएका छन्। कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ भने वैधानिक निर्णयका लागि कम्तीमा ५१ प्रतिशत प्रतिनिधिको उपस्थिति आवश्यक पर्छ।
उद्घाटन सत्रमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशन प्रतिनिधिहरूले गर्ने निर्णय स्वीकारेर अघि बढ्ने स्पष्ट पारे। उनले भने, “हाम्रा सन्दर्भका बारेमा धेरै चिन्ता नगर्नुस्। कहिलेकाहीँ युद्ध जित्न लडाइँ हार्न पनि तयार हुनुपर्छ। पार्टीलाई सही ठाउँमा उभ्याउन जोखिम मोलेर यहाँ आउनु भएको छ। अवसर र चुनौतीका बीच भोलि बिहान हामी हलमा उपस्थित हुन्छौँ, दिनभर छलफल गर्छौँ। हलले जे निर्णय गर्छ, त्यो नेपाली कांग्रेसमा स्थापित हुन्छ।”
उनले भने, ‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो आजदेखि त्यो भत्कियो । अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । अब माथि बस्नेले तल बस्नेलाई सलाम गर्नुपर्छ तलबाट माथि होइन । यो संघर्ष पार्टीभित्रको कोही बन्ने नबन्ने भन्ने संघर्ष होइन । पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो । भोलि बन्दसत्र छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । मैले पार्टी केन्द्रको रुपमा यो महाधिवेशनको आयोजना गरेको भए यसको एजेण्डा यो यो छ सम्भवतः यहाँ गएर टुंगिन्छ भनेर भन्नसक्थे होला । यो त सदस्यहरुले मागेर भएको महाधिवेशन हो । तपाईहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नुभएको छ । मैले मागेको होइन तपाईहरुले माग्नुभएको छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । किनभने म पनि तपाईहरुले बोलाएर आएको एउटा पाहुना मात्रै हु । भोलि बन्दसत्रले जे निर्णय गर्छ त्यो मेरो लागि स्वीकार्य छ । आजको तपाईको प्रयासहरुले एउटा कुरा स्थापित गरेको छ, काँग्रेस लासहरुको नभई जिउँदा मानिसहरुको पार्टी हो भनेर स्थापित गरेको छ ।’
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताए ।
उनले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गर्दै नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्ने बताए । उनले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि काँग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धी भएको दाबी गरे । साथै भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताए ।
उनले भने, ‘फागुन २१ गतेको निर्वाचनमा काँग्रेसले गरेका कमजोरी र समस्याहरुको पहिचान गरेर अगामी दिनमा त्यस्तो हुन दिँदैनौँ भन्ने संकल्प गरेर जानको लागि हामीले विषेश महाधिवेशन बोलाएका हौँ । असन्तुष्टि थिए । म स्मरण गराउन चाहन्छु ? असन्तुष्टि मात्रै थिएनन्, अस्थिरता, द्धन्द्ध र हिंसाको बिचबाट पनि यी सबैको बाबजुद गाउँ गाउँमा सडकहरु पुगेका थिए । सञ्चारको सुविधा पुगेको थियो । चाहे राज्यको क्षेत्रबाट होस् चाहे निजी क्षेत्रको तर्फबाट केही न केही प्रगति भएको थियो । नीजि क्षेत्रको व्यापक विस्तारले केही सम्भावनाहरु बढाएको थियो । यो काँग्रेसको नीतिमा भएको थियो र काँग्रेसले नेतृत्व गरेको बेला भएको थियो । सधैं राज्यलाई योगदान दिने तर विभिन्न आन्दोलनको बेला प्रताडना भोग्ने नीजि क्षेत्रलाई पनि आज सम्झिन चाहान्छौँ । भदौ २३ र २४ को घटनालाई अलग अलग रुपमा हेर्नुपर्छ हामी हेर्नेछौँ ।’
विशेष महाधिवेशनको उद्घाटन सत्रलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गोपालमान श्रेष्ठ, गुरुराज घिमिरे, पुष्पा भुसाललगायत नेताहरूले सम्बोधन गरेका थिए।
नेपाली कांग्रेसको इतिहासमा दोस्रो पटक आयोजना गरिएको भनिएको यो विशेष महाधिवेशनको पहिलो दिन जुलुस र उद्घाटन सम्बोधनमै सीमित रहेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा भने संस्थापन पक्षका नेताहरूको उपस्थिति देखिएको थिएन।