शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

त्रिशूलीमा फेला परेको बसको उत्खनन जारी

सोमबार, पुष २८ २०८२

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन सुरु गरिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज पनि उक्त कार्य निरन्तर जारी रहनेछ। प्रहरीका अनुसार बिहान १०ः४५ बजे त्रिशूली नदी किनारमा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो।

फेला परेको बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ।

घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रहरी नायब उपरीक्षक विकले बताए । हाल बसको उत्खनन कार्य तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।