काठमाडौं । हिजोबाट सुरु भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज केही बेरमा सुरु हुँदैछ। महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको खाजापछि बन्दसत्र औपचारिक रूपमा प्रारम्भ गरिनेछ।
सचिवालयका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता तथा खाजाको समय तोकिएको छ भने त्यसपछि १० बजेदेखि बन्दसत्र सुरु हुनेछ। आइतबार साँझसम्म नाम दर्ता गराइसकेका प्रतिनिधिको अन्तिम संख्या पनि आजै सार्वजनिक गरिने जानकारी दिइएको छ।
हिजो सम्पन्न उद्घाटनसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गर्नुभएको थियो। महाधिवेशनमा हालसम्म २६०० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।
विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार उद्घाटनसत्रले कांग्रेसभित्र देखिँदै आएको परिवर्तनको संकेतलाई अझ स्पष्ट पारेको छ। भृकुटीमण्डपमा आयोजित महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिले पार्टीको ग्रासरुट तहमा रहेको असन्तुष्टि अब खुला रूपमा प्रकट भएको उनले बतानए ।
संस्थापन पक्षको असहमतिको बाबजुद महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिको सक्रिय सहभागिता देखिएको छ। यसले पार्टीभित्रको शक्ति सन्तुलन नयाँ मोडतर्फ उन्मुख भएको संकेत गर्ने विश्लेषण गरिएको छ।