काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिमद्वार नजिक अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्दै उनले राष्ट्रनिर्माताको योगदानको सम्मान गरे ।
उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणलगायतले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरे ।
त्यसैगरी मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखहरू र समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका थिए ।
हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ।