शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसका महामन्त्रीद्वयले भने : विशेष महाधिवेशनले पार्टी संगठन झनै बलियो हुन्छ

आइतबार, पुष २७ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

पुस २७ र २८ गतेसम्म चल्ने विशेष महाधिवेशनको उद्घाटन आज आइतबार दिउँसो १ः०० बजे काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ। उद्घाटनअघि बिहान ११ः०० बजे सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत स्थानबाट नेता–कार्यकर्ता भेला भई र्यालीसहित भृकुटीमण्डप प्रस्थान गर्ने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि अट्ने गरी मञ्च निर्माण गरिएको छ। मञ्चअगाडि छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए। महाधिवेशन स्थल कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचार सामग्रीले सजाइएको छ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन। मुलुकभरबाट महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि काठमाडौँ आइपुगेको आयोजक समितिले जनाएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ः०० बजेदेखि भृकुटीमण्डपको मूल ढोकासँगै रहेको प्रदर्शनी कक्षबाट भइरहेको व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिए। प्रतिनिधिहरूका लागि कार्यक्रमस्थलमै खाना तथा नास्ताको व्यवस्था गरिएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ भने आवश्यक परे थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुने गरी प्रबन्ध मिलाइएको छ।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुनेछ। बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजबारे भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

महामन्त्रीद्वयको अगुवाइमा विशेष महाधिवेशन

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरे। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विधान पालना गर्दै पार्टीलाई जीवन्त, सुदृढ र जनउत्तरदायी बनाउने उद्देश्यले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउने, जनभावनाअनुरूप नीति निर्माण गर्ने तथा नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय अपरिहार्य रहेको उल्लेख गर्दै विशेष कारणसहित निवेदन दर्ता गरेको र त्यसको कार्यान्वयन केन्द्रको जिम्मेवारी भएको महामन्त्रीद्वयको भनाइ छ।

महामन्त्रीद्वय थापा र शर्माले जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू प्रतिबद्ध रहेकोसमेत स्पष्ट गरेका छन् । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो।

यद्यपि, विशेष महाधिवेशनप्रति पार्टीको संस्थापन पक्षले असहमति जनाएको बताइएको छ।