काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ।
केही समयदेखि घुँडासम्बन्धी समस्याका कारण अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै निवासमा उपचाररत ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र ‘राष्ट्रपुकार’ साप्ताहिकका सम्पादक थिए। उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्यका रूपमा समेत जिम्मेवारी सम्हाल्लेका छन् ।
दाहालको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका श्रीमती र दुई छोरा छन् ।