शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

झुट्टा बकपत्र दिएको आरोपमा दुई सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

शुक्रबार, पुष २५ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवतसम्बन्धी मुद्दामा अदालतसमक्ष झुट्टा तथा प्रतिकूल बकपत्र दिएको आरोपमा दुई सरकारी साक्षीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

विशेष अदालत, काठमाडौंमा दर्ता भएको मुद्दा नं. ०८२-CR-००१० अन्तर्गत बरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा चलेको मूल मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदले आयोगमा दिएको बयानभन्दा फरक व्यहोरा लेखाई अदालतमा प्रतिकूल बकपत्र दिएको पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार जिल्ला कैलाली चुरे गाउँपालिका–६ का प्रेम सिंह ठगुन्ना र गोदावारी नगरपालिका–२ का किसन सिंह साउदले अनुसन्धानका क्रममा दिएको बयान विपरीत विशेष अदालतमा मिति २०८२/०८/२५ गते बकपत्र गरेका थिए। अनुसन्धानबाट उनीहरूले बरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई नगद रु. ७ लाख ३१ हजार घुस/रिसवत दिएको कार्य पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले उनीहरूबीच गैरकानूनी स्वार्थ तथा लाभ लिने–दिने उद्देश्यले पछिबाट सम्पर्क सम्बन्ध कायम गरी मुद्दाको अनुसन्धानका क्रममा प्राप्त छुट तथा सुविधा पछि झुट्टा व्यहोरा लेखाई बकपत्र गरेको निष्कर्ष निकालेको छ। यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत भएको आयोगको ठहर छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर ठहर गर्दै आयोगले बिगो रु. ७,३१,००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार कैद र बिगो बमोजिम जरिवाना तथा दफा ३ को उपदफा (१क) अनुसार घुस/रिसवत जफतको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले अदालतसमक्ष सत्य तथ्यभन्दा फरक बकपत्र दिने कार्य कानुनविपरीत हुने भन्दै यस्ता कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गरेका छन् ।