शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

बिहिबार, पुष २४ २०८२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ।

राप्रपाले यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्न लागेको चियापान कार्यक्रममा निमन्त्रणा दिन अध्यक्ष लिङ्देन हात्तीगौंडास्थित लामिछाने निवास पुगेका हुन्। उक्त कार्यक्रममा सभापति लामिछानेले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

भेटका क्रममा दुई पार्टीका अध्यक्षबीच आसन्न निर्वाचन, निर्वाचनलाई निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले जनाए।

यसका साथै मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाबारे पनि विचारविमर्श भएको बताइएको छ।

राप्रपाले सोही दिन भृकुटीमण्डपमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई समेत निमन्त्रणा गरेको छ।