काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृतकमध्ये तीन जनाको पहिचान खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँको पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको छ। अर्का एक मृतकको पहिचान खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
प्रवक्ता सुवेदीका अनुसार बस दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने २२ जना घाइते छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हिजाे साँझ शङ्खरापुर नगरपालिका–३ फेदीजङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ केयर अस्पताल तथा टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।