शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दुवै सभाको निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन : प्रचण्ड

बुधबार, पुष २३ २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म कुनै दलसँग गठबन्धन गर्नेबारे न त छलफल भएको छ, न त भविष्यमा हुने नै बताए ।

संयोजक दाहालले हालैको भारत भ्रमण पार्टीगत कामका लागि भएको स्पष्ट पार्दै त्यसक्रममा भारतीय जनता पार्टीका केही नेताहरूसँग अनौपचारिक भेटघाट भए पनि कुनै औपचारिक राजनीतिक वार्ता वा गठबन्धनको कुरा नभएको जिकिर गरे।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्भावित एकताले आफूहरू नडराएको उल्लेख गर्दै उनले आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको स्मरण गर्नुभयो। उनले भने, “उनीसँग कुरा गर्न मलाई कुनै आइतवार कुर्नु पर्दैन।”

दाहालले पार्टी एकतापछि देशका सबै प्रदेशमा एकता सभा गरिएको र दिल्लीमा पनि एकता सभा आयोजना गरिएको जानकारी दिँदै भारत भ्रमण सोही सन्दर्भमा भएको बताए। भ्रमणका क्रममा विभिन्न व्यक्तिसँग भेटघाट भए पनि गठबन्धनबारे कुनै सहमति नभएको उनको भनाइ थियो।

उनले आफूहरू कसैसँग नडराएको दोहोर्‍याउँदै आउँदो निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी एक्लै जनतामाझ जाने स्पष्ट पारे।