काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको नेकपा एमाले अन्ततः चुनावी तयारीमा केन्द्रित भएको छ। चुनावी वातावरण अझै पूर्ण रूपमा नबनेको बताउँदै आएको एमालेले अन्य दलहरूभन्दा अगाडि बढ्दै उम्मेदवार सिफारिस प्रक्रिया, घोषणापत्र मस्यौदा लेखन समिति र निर्वाचन परिचालन कमिटी गठन गरी देश दौडाहको तयारी थालेको हो।
सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले “चुनावी वातावरण बन्यो भने एमाले अब देश दौडाहमा लाग्छ” भन्दै निर्वाचन तयारीमा जुट्नुपर्ने धारणा राखेपछि बैठकले औपचारिक रूपमा निर्वाचन केन्द्रित निर्णय गरेको नेताहरूले बताएका छन्। यो निर्णयसँगै पार्टी पूर्ण रूपमा निर्वाचनमा होमिएको उनीहरूको भनाइ छ।
बैठकमा वातावरण अझै अनुकूल नबनेको भए पनि चुनावमा जाने स्पष्ट निर्णय लिनुपर्ने मत अधिकांश नेताहरूले राखेका थिए। जेनजी आन्दोलन छानबिनका लागि बनेको जाँचबुझ आयोगले ओलीमाथि लगाएको स्थानहद फुकुवा भएपछि एमालेले देशभर चुनावी कार्यक्रमको तयारी तीव्र बनाएको हो।
मंगलबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले देशभर एकैपटक निर्वाचन नहुन सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै नेताहरूलाई सचेत रहन र कार्यकर्तालाई सोहीअनुसार परिचालन गर्न निर्देशन दिए। उनले चुनावमा गडबडी हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउनुपर्ने बताए।
ओलीले केही व्यक्तिहरू नियतवश तथा केही स्वार्थ बोकेर वैदेशिक शक्तिको दलाली गर्दै चुनावमा अवरोध गर्न सक्ने टिप्पणी पनि गरे। विकासका नाममा एनजिओ/आइएनजिओका एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले त्यसप्रति सजग रहन आग्रह गरे।
जेनजी आन्दोलनको प्रसंग उठाउँदै ओलीले उक्त घटनामा रवि लामिछाने र बालेन साह पनि दोषी रहेको दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए।
बैठकले अध्यक्ष ओलीकै संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको घोषणापत्र मस्यौदा समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ। साथै उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।
निर्वाचन परिचालन कमिटीमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी सदस्य छन्। प्रत्यक्षतर्फ उम्मेदवारी नदिने नेताहरूलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको ओलीले बताएका छन्।
एमालेले प्रदेशस्तरमा पनि निर्वाचन अभियानका लागि इन्चार्ज तोकेको छ। कोसीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र काठमाडौं उपत्यकामा राजन भट्टराईलाई इन्चार्ज बनाइएको छ। संगठन विभागको इन्चार्जको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।
उपमहासचिव लेखराज भट्टका अनुसार निर्वाचनमा ७७ जिल्लामा भूगोलकेन्द्रित रूपमा केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने निर्णय पनि भएको छ। निर्वाचनमा निर्वाह गर्ने भूमिकाका आधारमा नेताहरूको आगामी जिम्मेवारी निर्धारण गरिने उनले बताए।
एमालेका निर्वाचन क्षेत्र र जिल्ला तहका कमिटीहरूले अधिकांश स्थानबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरी माथिल्लो कमिटीमा पठाइसकेका छन्। बाँकी रहेका कमिटीलाई चाँडै नाम पठाउन सचिवालय बैठकले आग्रह गरेको छ।