वीरगञ्ज । धार्मिक सद्भाव भड्किन नदिन वीरगञ्जमा जारी कर्फ्यूको समय थप गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले थप आदेश जारी गर्दै आज साँझ ६ बजेसम्मका लागि कर्फ्यू अवधि बढाइएको जानकारी दिएका छन् ।
धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा सुरक्षा चुनौती बढेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। मुस्लिम र हिन्दू समुदायबीच एक–अर्काविरुद्ध प्रदर्शन सुरु भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा आवश्यक परेको प्रशासनले जनाएको छ।
यसैबीच, पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय तथा सर्वपक्षीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक तथा धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गर्दै समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको बैठकले शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई संयम अपनाउन अनुरोध गरेको हो।
नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुंग्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो। “समाजमा आगो लगाउनु कुनै पक्षको हितमा हुँदैन,” उनले भने, “सदियौँदेखि कायम रहँदै आएको सद्भावलाई जोगाएर शान्ति अमनचयन कायम गर्न सबैलाई आह्वान गर्दछु।”
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरु मौलानाको अग्रसरतामा सामाजिक सद्भाव कायम गर्दै दीर्घकालीन समाधान खोज्नुपर्ने बताए। उनले विगत केही वर्षदेखि देखिँदै आएको समस्याको समाधानका लागि सबै पक्ष हातेमालो गरेर अघि बढ्न आवश्यक भइसकेको उल्लेख गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले यहाँ देखिएको समस्या मौलिक नभई अन्य स्थानको सिको गर्ने प्रवृत्तिका कारण उब्जिएको हुन सक्ने गुनासो गरे।
जनता समाजवादी पार्टी (जसपा)का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएका घटनाका आधारमा वीरगञ्जमा विरोध प्रदर्शन र गतिविधि गर्नु उपयुक्त नहुने धारणा राख्दै शहरलाई शान्तिक्षेत्रका रूपमा कायम गर्न सबैसँग आग्रह गरे।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गर्दै सामाजिक सद्भाव कायम गर्न प्रशासन प्रतिबद्ध रहेको बताए।
प्रशासनले शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिएको र सबै पक्षलाई संयम अपनाउन पुनः आग्रह गरेको छ।
