शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचनको वातावरण बिथोल्ने प्रयास भए स्वीकार्य हुँदैन : रवि लामिछाने

मंगलबार, पुष २२ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकको वर्तमान राजनीतिक संकटको समाधान निर्वाचनमार्फत नै सम्भव हुने बताएका छन् ।

साेमबार काठमाडौँमा आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा बोल्दै उनले समयमै निर्वाचन सम्पन्न गरी देशका समस्याको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। उनले निर्वाचन सर्ने वा नहुने भन्ने अन्योल सिर्जना नगर्न आग्रह गर्दै निर्वाचनको वातावरण बिथोल्ने प्रयास भए स्वीकार्य नहुने चेतावनीसमेत दिए ।

“चुनाव सर्छ कि हुँदैन भन्ने भ्रम फैलाउने काम नगर्नुहोस् । निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो,” सभापति लामिछानेले भन्नुभयो, “देशले सुनौलो भविष्य कोर्न लागेको बेला अवरोध गर्ने होइन।”

सभापति लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम र सबल रहेको दाबी गर्दै पुराना राजनीतिक दलका नेताहरूले चिन्ता गर्न नपर्ने स्पष्ट पारे। पुराना दलहरूले नयाँ पुस्ताप्रति शंका गर्ने प्रवृत्ति देखाए पनि देशलाई संकटबाट जोगाउन नयाँ पुस्ता सक्षम रहेको उनको भनाइ थियो।

उनले संसदलाई बजेट भाषणमा मात्र सीमित बनाइएको आरोप लगाउँदै जनचासोको केन्द्र बनाउने पार्टी रास्वपा भएको जिकिर गरे। बिग्रिएको अर्थतन्त्र, कमजोर बनेको वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्न नयाँ पुस्ता एकजुट भएर अघि बढिरहेको पनि उनले बताए ।

“पुराना राजनीतिक दलहरूले देशलाई निराशातर्फ धकेले,” उनले भने, “सम्भावनै सम्भावना भएको देशलाई सम्भावनाहीन बनाइयो। हामी त्यहाँबाट मुलुकलाई उठाएर एउटा स्पष्ट गन्तव्यतर्फ लैजान सक्षम छौँ।”

सभापति लामिछानेले वर्तमान राजनीतिक संकट समाधान गर्ने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै निर्वाचनको वातावरण खल्बल्याउने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरे ।

उनले नयाँ पुस्ताको राजनीतिमा प्रवेशले देशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै रास्वपासँग जोडिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको उदयले युवाहरूमा राजनीतिप्रतिको चासो बढेको बताए। साथै, इतिहासको संवेदनशील मोडमा देशले नयाँ र राम्रो इतिहास लेख्न लागेको उनको धारणा थियो।

कार्यक्रममा सभापति लामिछानेले थरुहट÷थारुवान आन्दोलनलाई पार्टीले आत्मसात् गर्ने र त्यसप्रति जिम्मेवारी लिने प्रतिबद्धतासमेत व्यक्त गरे ।