शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नक्कली नियुक्ति प्रकरणमा हरिपूर्वा नगरपालिकाका कार्यालय सहायक र तत्कालीन सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, पुष २२ २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सर्लाहीको हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव र तत्कालीन हरिपूर्वा गाउँ विकास समितिका सचिव रामप्रकाश सिंह दनुवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार १८ वर्ष उमेर नपुग्दै, दरबन्दीबिनै तथा कानुनी प्रक्रिया विपरीत अरुण कुमार यादवलाई कार्यालय सहायक पदमा नियुक्त गरिएको उजुरीमाथि अनुसन्धान गर्दा गम्भीर अनियमितता पुष्टि भएको हो। यादवको जन्म मिति २०४७/०६/०५ रहेको र २०६४ साल आश्विन मसान्तसम्म उनी १७ वर्ष २५ दिनको मात्र भएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा यादवले हरिपूर्वा गाउँ विकास समितिमा २०७३/१०/०१ देखि २०७५ असार मसान्तसम्म सेवा करारमा काम गरेको भए पनि, त्यसअघि नै २०७१/०५/३१ गते स्थायी नियुक्ति भएको भनी सरकारी कागजात दुरुपयोग गरी नक्कली नियुक्ति पत्र तयार गरिएको पाइएको छ। आयोगका अनुसार उक्त नियुक्ति स्थानीय स्वायत्त शासन नियमावली, २०५६ विपरीत छ।

नक्कली नियुक्ति पत्रको आधारमा यादवले आ.ब. २०७८/०७९ देखि स्थायी कर्मचारीका रूपमा तलब, भत्ता तथा सञ्चयकोष कट्टीसमेत लिँदै आएको प्रमाण फेला परेको आयोगले जनाएको छ। साथै, कर्मचारी सञ्चयकोष, निजामती किताबखाना, नागरिक लगानी कोष तथा सम्बन्धित मन्त्रालय र निकायहरूमा उनको स्थायी नियुक्तिसम्बन्धी कुनै अभिलेख नदेखिएको पनि अनुसन्धानबाट खुलेको छ।

अख्तियारले तत्कालीन सचिव रामप्रकाश सिंह दनुवार र अरुण कुमार यादवको मिलेमतोमा गलत लिखत तयार गरी सरकारी कागजातमा हेरफेर गर्दै अवैध रूपमा स्थायी नियुक्ति लिई–दिई लाभ लिएको ठहर गरेको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै आयोगले दुवै प्रतिवादीविरुद्ध सजायको मागदाबी लिई साेमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।