शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मकवानपुर सुमो दुर्घटना: मृतकमध्ये चार जनाको पहिचान, दुई अझै अज्ञात

सोमबार, पुष २१ २०८२

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनामध्ये हालसम्म चार जनाको मात्र पहिचान खुलेको छ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको टाटा सुमो सडकबाट करिब १ सय मिटर तल खोल्सामा खस्दा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिचान भएका मृतकहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार राज्य बेगुसराईका करिब ५० वर्षीय अरबिन्द कुमार तथा बिहार राज्यकै पटना घर भएका ४२ वर्षीय रजनीस कुमार रहेका छन्।

दुर्घटनामा ज्यान गुमाएका अन्दाजी ३६ र ४० वर्ष उमेरका दुई जना पुरुषको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ। अन्य घाइते २१ वर्षीया रिचा चौधरीको अवस्था भने मध्यम रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।