शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अमेरिकाले मादुरो नियन्त्रणमा लिनु आपत्तिजनक, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन : महासचिव पोखरेल

आइतबार, पुष २० २०८२

काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ।

महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् – कुनै एउटा देशले अर्को देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिनु, अभियोग लगाउनु र त्यसका माध्यमबाट आफ्नो इच्छा लागू गर्नु संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लङ्घन हो। उहाँका अनुसार यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।

पोखरेलले लेखेका छन्, “भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ।”