शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

शुक्रबार, पुष १८ २०८२

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिका–पुर्कोट तर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार ३६ वर्षीय वसन्त अर्याल र उहाँकी भाउजू ५६ वर्षीय मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

दुर्घटनामा चार जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि गुल्मी अस्पताल, तम्घास ल्याइएको थियो, जहाँ चिकित्सकले दुई जनालाई मृत घोषित गरेका थिए ।

घाइतेमध्ये मृतक मनकलाका नाति छ वर्षीय अनुभव गिरीलाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने पैदल यात्री ४१ वर्षीया लिलावती अर्याल, जसले जमरपोखरा माध्यमिक विद्यालयमा शिक्षकको रूपमा कार्यरत छिन्, अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।