देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसमा पार्टीको १५औँ महाधिवेशनसम्बन्धी विवाद निर्णायक मोडमा पुगेको छ। संस्थापन पक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने अडानमा रहँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पक्षधर समूह विशेष महाधिवेशनतर्फ अघि बढेको छ।
गत मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेअनुसार बुधबार वडा र बिहीबार पालिका अधिवेशन हुनुपर्ने थियो। तर, क्रियाशील सदस्यता टुंगो नलाग्दा ती अधिवेशन हुन सकेनन्। यससँगै तोकिएको मितिमा केन्द्रीय महाधिवेशन नहुने निश्चित बनेको छ।
नियमित महाधिवेशन सम्भव नदेखिएपछि विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी थालेका छन्। दुई दिनका लागि हल बुक गरिएको र करिब आठ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। आयोजक समितिले अग्रिम पेस्कीसमेत बुझाइसकेको जनाएको छ।
विशेष महाधिवेशनका पक्षधर केन्द्रीय सदस्य प्रतिमा गौतमले विधानको धारा १७९२० अनुसार अब विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्। उनका अनुसार तोकिएको कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनको बाटो खुलेको हो।
यसैबीच, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्। विधानअनुसार तीन महिनाभित्र महाधिवेशन आयोजना गर्नुपर्ने समयसीमा पुस २८ गते सकिँदै छ।
महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन नहुनु विशेष महाधिवेशनको ढोका ढकढकाउनु सरह भएको टिप्पणी गरे। उनले विधानको पालना सबै नेतृत्वको साझा दायित्व भएको उल्लेख गर्दै विशेष महाधिवेशन बाध्यकारी बनेको दाबी गरे।
यता, विशेष महाधिवेशन रोक्न सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल थालेका छन्। देउवाले कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकसँग परामर्श गर्दै विशेष महाधिवेशनले पार्टी कमजोर र विभाजनतर्फ जान सक्ने चिन्ता व्यक्त गरे ।
यसैक्रममा महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरिएको औपचारिक घोषणा गर्दै विशेष महाधिवेशन आह्वान गरेका छन्। संयुक्त विज्ञप्तिमार्फत तोकिएको समयमा नियमित महाधिवेशनका पूर्वतयारी पूरा हुन नसकेकाले कार्यतालिका निष्प्रभावी बनेको जनाइएको छ।
विज्ञप्तिमा हालसम्म पाँच लाख ७९ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण भइसकेको र नयाँ सदस्यता दर्ता प्रक्रिया निरन्तर जारी रहेको उल्लेख छ। साथै, विशेष महाधिवेशनसम्बन्धी मागलाई विधानबमोजिम सर्वसम्मतिका आधारमा अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यता आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई आमन्त्रण गरिएको छ।
महामन्त्रीद्वय थापा र शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन्। सो प्रयोजनका लागि भृकुटीमण्डपको हलसमेत बुक भइसकेको नेताहरूले बताएका छन्।
