काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई आमन्त्रण गरिएको छ।
महामन्त्रीद्वय थापा र शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन्। सो प्रयोजनका लागि भृकुटीमण्डपको हलसमेत बुक भइसकेको नेताहरूले बताएका छन्।
विशेष महाधिवेशनको तयारीबारे जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए। त्यसलगत्तै पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेका हुन्।
यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५औँ नियमित महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। तर वडा र पालिका अधिवेशन हुन नसकेपछि नियमित महाधिवेशन स्थगित गर्दै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन बोलाउने निर्णय गरेका हुन्।