शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तराईमा हुस्सु, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

शुक्रबार, पुष १८ २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज तराई भू–भागका अधिकांश स्थानमा दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही प्रदेशमा मौसम आंशिक बदली हुने अनुमान छ।

हाल तराईका धेरै स्थान हुस्सुले ढाकिएका छन्। महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना कायमै छ। तराईका केही स्थानमा राति पनि हुस्सु रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ। आवश्यक सतर्कता अपनाउन र दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।