बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भदौ २४ को घटनाले लगानी वातावरण खल्बलियोः पूर्व अर्थमन्त्री महत

बिहिबार, पुष १७ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भदौ २४ को घटनालाई वैधानिकता दिइएको खण्डमा भविष्यमा झन् ठूलो समस्या उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा महतले भदौ २३ र २४ को घटनामा संलग्न व्यक्तिहरूलाई कानूनको कठघरामा ल्याउन आवश्यक रहेको बताए।

उनले भने, “भदौ २३–२४ को घटनालाई वैधता दिए भविष्यमा समस्या आउँछ। भदौ २३ को घटना र भदौ २४ को लुटपाट तथा आगजनीलाई अलग तर समान ठाउँमा राख्नुपर्छ, नत्र समस्या दोहोरिन्छ।”

महतले आगजनीमा संलग्नलाई कारबाही नगरे शान्ति खलल हुने, देशको स्थायित्वमा असर पर्ने र समृद्धि टाढा जाने स्पष्ट पारे। उनले सरकारले जेनजी प्रतिनिधिसँग गरेको सम्झौताले वैधता पाउन नहुने पनि बताए।

उनले थपे, “भदौ २४ पछि भएको घटनालाई समग्रतामा हेर्न जरुरी छ। यो केवल निजी क्षेत्रको मात्र होइन, आम नागरिकको सुरक्षासँग पनि सम्बन्धित छ। जुनखाले विध्वंस र नोक्सानी राष्ट्रलाई भयो, त्यसले मनोवैज्ञानिक रूपमा नकारात्मक वातावरण सिर्जना गरेको छ।”

महतका अनुसार उक्त घटनामा अनुमानित क्षति दुई वर्षको बजेट बराबर छ। यसले लगानी गर्ने वातावरण नै ध्वस्त भएको छ भने ठूला पूँजीको पलायन भएको छ। उनले विदेशी पूँजी ल्याउने सम्भावनासमेत समाप्त भएको बताए।