कञ्चनपुर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्मलाई समेट्दै केन्द्रमा नामावली पठाएको हो ।
निर्वाचन क्षेत्र नं १ बाट पूर्वमन्त्री बिना मगरसहित सात जनाको नाम सिफारिस गरिएको छ । यसमा जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्साल रहेका छन् ।
निर्वाचन क्षेत्र नं २ मा आकांक्षीहरूको संख्या बढी देखिएको छ । यस क्षेत्रबाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी र माधवप्रसाद पन्तसहित लालबहादुर खड्का, हरिस ठकुल्ला (कमल क्षेत्री) र तोयराज जोशीको नाम सिफारिस सूचीमा समावेश छ ।
निर्वाचन क्षेत्र नं ३ बाट पाँच जना नेता सिफारिसमा परेका छन्, जसमा खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी रहेका छन् । यस क्षेत्रमा दलित र जनजाति समुदायको प्रतिनिधित्वलाई पनि विशेष प्राथमिकता दिइएको छ ।
नेकपाका नेता जीवनराज थापाका अनुसार जिल्ला तहबाट सिफारिस भएका यी नाममध्ये अन्तिम उम्मेदवारको टुङ्गो पार्टीको केन्द्रीय कार्यदलले लगाउनेछ । बैठकमा आकांक्षीका रूपमा रहेका सबैको नाम सङ्कलन गरी पठाइएको भए पनि अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिइएको छ ।