काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले आगामी राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरेको छ ।
मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीको बबरमहलस्थित कार्यालयमा बसेको मोर्चाको बैठकमा निर्वाचन रणनीतिबारे विचार–विमर्श भएको हो ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आउन लागेको राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनका विषयमा व्यापक छलफल भएको जानकारी दिए ।
उनका अनुसार आगामी बैठकमा मोर्चामा आबद्ध सबै राजनीतिक दलका अध्यक्षहरुसँग संयुक्त बैठक बसेर उम्मेदवार छनोट र गठबन्धनबारे निर्णय लिने सहमति भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोर्चामा रहेका दलका उम्मेदवारलाई साझा बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।
शुक्लाले भने, “आउन लागेको राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन मुख्य एजेन्डा थियो । राष्ट्रिय सभा निर्वाचनमा मोर्चा कसरी प्रस्तुत हुने र मधेस प्रदेशका चार सिटमा को उम्मेदवार हुने भन्नेबारे छलफल भयो । अर्को बैठक मोर्चाका सबै अध्यक्षहरूको उपस्थितिमा बस्ने सहमति गरेका छौँ । प्रतिनिधि सभाको निर्वाचनमा जुन पार्टीहरू पहिले नै मिलिसकेका छन्, तिनकै उम्मेदवार हुनेछन् । अन्य दलहरुसँग सिट मिलान र सहकार्यबारे सबै अध्यक्षहरुसँग छलफल गरिनेछ ।”
मोर्चाको अर्को बैठक पुस १८ गते अध्यक्षसहित बस्ने जानकारी पनि उनले जानकारी दिए । हाल मोर्चामा रहेका सात दलमध्ये चार दल एकीकृत भइसकेको र बाँकी तीन दलसँग तालमेल कसरी गर्ने भन्नेबारे सैद्धान्तिक सहमति गरिने उनले बताए ।
निर्वाचनका लागि पुराना वा नयाँ राजनीतिक शक्तिमध्ये कुनै एकसँग सहमति गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।