काठमाडौँ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका कमल थापा आज पुनः राप्रपामै फर्किने भएका छन् । उनले सक्रिय बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) र राप्रपाबीच आज औपचारिक एकता घोषणा हुँदैछ ।
दुई पार्टीबीच आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ऐतिहासिक एकता घोषणा समारोह आयोजना गरिएको छ । यसअघि केही दिनअघि लिङ्देन र थापाबीच दुई बुँदे एकता सहमति भएको थियो भने एकीकरण अनुमोदनका लागि राप्रपा नेपालको मंगलबार बैठकसमेत बसेको थियो ।
झण्डै चार वर्षपछि दुई राष्ट्रवादी शक्ति एक भएर अघि बढ्ने तयारीस्वरूप आज एकता घोषणा हुन लागेको हो । एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिँदै पार्टी अघि बढाइने राप्रपा अध्यक्ष लिङ्देनको प्रतिबद्धता रहेको छ ।
राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा नपठाएको उल्लेख गरिएको छ । यस्तै, राप्रपाले पेस गरेको बन्द सूचीमा पनि कमल थापा पक्षधर नेताहरु समेटिएका छैनन् ।
यसैबीच, राप्रपाले महाधिवेशन छ महिना पर सारेको र निर्वाचनको माहौल रहेकाले हाल सम्मानजनक हैसियतमा पार्टी निर्माणमा सक्रिय हुने तयारी मात्रै गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताएका छन् ।