काठमाडौँ । नेपालमा च्याउको महत्व प्रचार-प्रसार, गुणस्तरीय उत्पादन प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि, आन्तरिक खपत वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि आज पहिलो राष्ट्रिय च्याउ दिवस मनाइएको छ। यसका लागि नेपाल सरकारले पुस ११ गते निर्णय गरेको थियो।
नेपालको कृषि गार्हस्थ्य उत्पादनमा च्याउको योगदान करिब ०.१५ प्रतिशत रहेको छ भने करिब ३५ हजार किसान यसमा प्रत्यक्ष संलग्न छन्। अध्ययनअनुसार नेपालमा १,१५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको छ।
विगत केही वर्षयता उद्यमी र सरकारी सहयोगले च्याउको व्यावसायिक उत्पादन प्रवर्द्धन भएको छ। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा दुई हजार २६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात गरिएको थियो, जसको मूल्य रु ६ लाख ७१ हजार थियो। त्यस्तै, १७ हजार १९८ किलो च्याउ निर्यात गरिएको थियो, जसको मूल्य रु १ करोड १ लाख बराबर थियो। हाल सुकाएको च्याउसमेत निर्यात भइरहेका छन्।
च्याउ खेती अन्य खेतीभन्दा छिटो उत्पादन दिन सक्ने, कम जमिन र कृषि सामग्रीमा आधारित हुने तथा नेपालका भौगोलिक र जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने भएकाले व्यावसायिक उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि महत्वपूर्ण छ।
हाल नेपालको ७० जिल्लामा च्याउ खेती फैलिएको छ भने ४० जिल्लामा व्यावसायिक रूपमा उत्पादन गर्ने किसान छन्। विभिन्न जातका च्याउ उत्पादन र कारोबार करिब रु २० अर्बको हाराहारी रहेको छ। गोब्रे च्याउको उत्पादन र अनुसन्धान पहिलोपटक २०३०/३१ सालमा सुरु भएको हो। राष्ट्रिय कृषि अनुसन्धान परिषद्का बाली रोग विज्ञान महाशाखाबाट प्रविधि अध्ययन सफल भएपछि २०३७ सालदेखि देशभर किसानलाई तालिम दिई यसको विस्तार गरिएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले च्याउ उत्पादन प्रवर्द्धन र व्यवसायीकरणलाई प्राथमिकतामा राख्दै प्रविधि विस्तार, बजार प्रवर्द्धन र नीतिगत सहजीकरणमार्फत मूल्य श्रृंखला विकास गर्दै आएको छ।
दिवसका अवसरमा कृषिमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादक, उद्यमी, उपभोक्ता र सरोकारवालामा शुभकामना व्यक्त गर्दै उद्योगी, किसान, अनुसन्धानकर्ता र व्यवसायीबीच सहकार्य र साझेदारी बढाइ दीर्घकालीन व्यावसायिक सम्बन्ध बलियो बनाइने बताए।
उनले च्याउको पोषण र आर्थिक महत्वबारे सचेतना अभिवृद्धि, किसानलाई नयाँ प्रविधि र बजार अवसरमा जोड्ने तथा आगामी दिनमा नीतिगत मार्गदर्शन गर्ने अपेक्षा व्यक्त गरे ।