काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीका लागि तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा पुस १३ र १४ गते बन्दसूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो। सोही कार्यतालिकाअनुसार सोमबार राति अबेरदेखि आज बिहानसम्म गरी कुल ६४ दलले बन्दसूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
समानुपातिक प्रणालीअन्तर्गत ११० सिटका लागि ६४ दलबाट करिब तीन हजार चार सय २४ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ। बन्दसूची बुझाउने दलमध्ये ५४ दलले आफ्नै निर्वाचन चिह्न प्रयोग गरेका छन् भने १० दलले साझा निर्वाचन चिह्नबाट उम्मेदवारी दिएका छन्।
कतिपय दलबीच एकता तथा सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको आयोगले जनाएको छ। आयोगमा यस प्रणालीअन्तर्गत उम्मेदवारी दिन ९३ राजनीतिक दलले आवेदन दिएका थिए।
आयोगका अनुसार प्राप्त बन्दसूची पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। छानबिनपछि सच्याउनुपर्ने विवरण वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सुधार गर्न समय दिइनेछ। सुधार गरिएको बन्दसूची माघ ३ गतेसम्म जाँच गरिनेछ भने आगामी माघ २० गते अन्तिम सूची सार्वजनिक गरिने आयोगले जनाएको छ।