काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने समझदारी भएको छ ।
आइतबार काठमाडौँमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरूको संयुक्त बैठकले पार्टी एकतामा सहमति गरेको हो ।
देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दालाई थप मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरिएको उल्लेख छ ।