काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका, वडा नं. १०, गोंगबुस्थित श्री मनोहर माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा कानूनी उमेर हद उल्लंघन गरी ४० वर्ष पुगेकी अयोग्य कल्पना पनेरुलाई नियुक्ति गरेको प्रकरणमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार प्रतिवादी कल्पना पनेरु २०६०/०८/११ देखि प्राथमिक विद्यालय शिक्षकको अस्थायी पदमा कार्यरत थिइन् र २०६९/०८/०१ मा श्री रत्नराज्य माध्यमिक विद्यालय रामकोटबाट श्री मनोहर माध्यमिक विद्यालयमा काज सरुवा गरिएको थियो। यस प्रक्रियामा तत्कालीन सहायक प्राचार्य बासुदेव अधिकारीको पनि संलग्नता रहेको देखिएको छ।
सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका, २०७१ (संशोधन सहित) अनुसार उच्च माध्यमिक तह शिक्षकको उमेर सीमा २१–४० वर्ष निर्धारण गरिएको थियो। प्रतिवादी कल्पना पनेरुको जन्म मिति २०३२/०८/०७ अनुसार नियुक्ति समयसम्म उमेर ४० वर्ष नाघिसकेको थियो।
जाँच क्रममा देखिएको तथ्य अनुसार प्रतिवादीहरुले बदनियतपूर्वक सरकारी अभिलेखमा केरमेट, सच्याइ र हेरफेर गरी नियुक्ति पत्र तयार गरेका थिए। यसरी आपसी मिलेमतोमा नियुक्ति गराइ कार्यरत रहँदा उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ उल्लंघन गरेको पुष्टि भएको छ।
अख्तियारले उक्त कसुरमा प्रतिवादी कल्पना पनेरु र बासुदेव अधिकारीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।