'सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान !'
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विदेशी दलाल र ठगको इशारामा चल्ने गतिविधिबाट देश कमजोर हुने चेतावनी दिएका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै भने, “देश सिध्याउँछन् यी विदेशी दलालहरुले! सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान रहनुपर्छ। तर उनीहरुको हर्कतले अन्ततः उनीहरू आफै कमजोर बन्दै जानेछन्।”
उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने र स्वतन्त्र रूपमा देशको ढुंगाको, माटोको राजनीति गर्ने स्पष्ट पारे।
उनले भने, “अहिले चुनावको माहोल छ। धेरैले विभिन्न कुरा गरिरहेका छन्। जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ। श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन। हाम्रो पार्टीले मिसावट विनाको राजनीति गर्छ।”
उनकाे यो प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि आएको हो।