काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहबीच भएको ७ बुँदे सहमतिपछि भदौ २३ र २४ गते भएका विध्वंसात्मक घटनाका योजनाकार र मतियार को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुन लागेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यस क्रममा केही युवाको हत्या गरिएको दाबी गरेका छन्। त्यसैको आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको उनको आरोप छ।
पोखरेलका अनुसार ती घटनाहरू भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थिए। उनले अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारीसमेत सुरु भएको दाबी गरेका छन्।
“यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ,” पोखरेलले उल्लेख गरेका छन्। यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ।
नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्।