शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि–बालेन सहमतिनजिक, नयाँ वैकल्पिक शक्ति घोषणा गर्ने तयारी

शुक्रबार, पुष ११ २०८२

काठमाडौँ । वैकल्पिक नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्यको तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज–भोलिमै सहमतिको घोषणा गर्ने तयारी भइरहेको छ। यसका लागि दुवै पक्षका टिमले तीव्र गृहकार्य थालेका छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने म्याद पुस १३ अगावै सहमतिमा पुग्ने लक्ष्य राखिएको रास्वपा निकट स्रोतले जनाएको छ।

पुस ७ गते सोमबार र पुस १० गते बिहीबार गरी दुई चरणमा भएको छलफलबाट रवि र बालेन सहमतिनजिक पुगेको रास्वपा स्रोतको दाबी छ।
‘आगामी चुनावमा नयाँ वैकल्पिक शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा दुवैको साझा बुझाइ छ। सहकार्यको मोडालिटी कस्तो हुने भन्नेबारे खाका बनाउने काम भइरहेको छ,’ स्रोतले भन्यो।

छलफलमा पावर सेयरिङ र रवि–बालेनको पदीय हैसियतबारे प्रारम्भिक कुराकानी भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ।

शुक्रबार बालेन काठमाडौं महानगरपालिकाको नगरसभामा व्यस्त रहेकाले उनको तर्फबाट टिमले मात्र सहकार्यसम्बन्धी गृहकार्य अघि बढाएको जनाइएको छ।