काठमाडौँ । आगामी निर्वाचनको वातावरण बनाउन वर्तमान सरकारले राजनीतिक दलका शीर्ष नेतासँग संवादलाई निरन्तरता दिएको छ।
यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन्।
राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि निर्वाचन केन्द्रित छलफल गरेका थिए।
राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार सक्रिय रहेको जनाएको छ।