काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन्।
सञ्चारमन्त्रीको सचिवालयका अनुसार मन्त्री खरेलले सर्वप्रथम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नेछन्। त्यसपछि बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग र अन्त्यमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण तयार पार्ने उद्देश्यले मन्त्री खरेलले देउवा, ओली र प्रचण्डको निवासमै पुगेर भेटवार्ता गर्न लागेका हुन्।
यसैबीच जेनजी आन्दोलनका क्रममा क्षति भएका विभिन्न राजनीतिक दलका कार्यालयको सरकारले अनुगमन गरिरहेको छ। साथै निर्वाचनसम्बन्धी विषयमा सरोकारवाला पक्षसँग समन्वय र संवादलाई पनि तीव्रता दिएको सरकारको भनाइ छ।