शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओको बाटो आज पनि व्यावहारिक मार्गदर्शन हो : प्रचण्ड

शुक्रबार, पुष ११ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओत्सेतुङले देखाएको बाटो इतिहासमा सीमित नभई राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि आज पनि व्यावहारिक मार्गदर्शन भएको बताएका छन्।

माओत्सेतुङको १३३औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक तथा समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गरेका छन्।

‘हामीले सामन्तवाद अन्त्यका लागि वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा गरिसकेका छौँ । यसले हाम्रो वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ,’ दाहालले सन्देशमा उल्लेख गरेका छन्। उनका अनुसार वर्तमान परिस्थितिमा मार्क्सदेखि लेनिन र माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढतापूर्वक अगाडि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको प्रमुख कार्यभार हो।

प्रचण्डले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरूविरुद्ध निर्मम वैचारिक तथा राजनीतिक सङ्घर्ष नगरी समाजवादी क्रान्ति सफल नहुने निष्कर्ष पनि प्रस्तुत गरेका छन्।