काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित तीन जना युवा पदाधिकारीले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन्।
कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने हुने भएका हुन्। महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले यसअघि नै आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन्।
महामन्त्री गगन थापाले भने बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीको नेतृत्व निर्वाचनअघि परिवर्तन नभए आफू चुनाव नलड्ने स्पष्ट पारेका थिए। ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ। नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ बैठकमा थापाले भनेको एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार थापाले ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने अरूले लड्नुस्, म चाहिँ लड्दिनँ’ भन्ने अभिव्यक्ति दिएका थिए। पार्टी नेतृत्व परिवर्तन भएमा मात्रै आफू चुनाव लड्ने उनको भनाइ छ। तर, तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने नेतृत्व परिवर्तन भए पनि आसन्न निर्वाचन नलड्ने स्वघोषणा गरिसकेका छन्। कार्यसम्पादन समिति बैठकमा बोल्दै उनले आफू लगातार तीन पटक उम्मेदवार भइसकेकाले अब राजनीतिक प्रवृत्ति परिवर्तन गर्न चुनाव नलड्ने निर्णय गरेको बताएका थिए।
‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै गरेर आएको जानकारी गराउँदछु,’ शर्माले बैठकमा बताएका थिए।
यसअघि सहमहामन्त्री पाण्डेले गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका थिए । २६ मंसिरमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला कार्यसमिति बैठकमा उनले आफू उम्मेदावर बन्न इच्छुक नरहेको बताएका थिए ।