काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक समीकरण निर्माण गर्ने प्रयासलाई तीव्र बनाएका छन्।
विभिन्न दलका नेता, जेनजी प्रतिनिधि तथा पूर्व विवेकशील साझाका नेताहरूसँग मिलेर नयाँ शक्ति निर्माण गर्ने उद्देश्यसहित उनी बिहीबार बिहानैदेखि ‘म्याराथन मिटिङ’ मा व्यस्त देखिएका छन्।
बालेनको योजना विभिन्न राजनीतिक र गैरराजनीतिक समूहलाई समेटेर ‘देश विकास पार्टी’ मार्फत् आगामी निर्वाचनमा देशव्यापी उम्मेदवारी दिने रहेको छ। यही तयारीका क्रममा उनले आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर–कुपण्डोलस्थित निवासमा बिहानैदेखि निरन्तर भेटवार्ता गरेका हुन्।
बिहानको पहिलो भेट ऊर्जामन्त्री कुलमान घिसिङसँग भएको थियो। उज्यालो नेपाल पार्टी खोलेर औपचारिक राजनीतिमा प्रवेश गरिसकेका घिसिङ र बालेन एक भएर अघि बढ्ने विषय लगभग टुंगोमा पुगेको बालेन निकट स्रोतले जनाएको छ। निर्वाचन आयोगमा दर्ता भइसकेको उज्यालो नेपाल पार्टी निष्क्रिय बनाएर कुलमान देश विकास पार्टीमै समेटिने वा दुवै पार्टीबीच एकता गर्ने विकल्प खुला रहेको बताइएको छ।
देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको दल हो। यसको अध्यक्ष सन्ध्या खनाल हुन् भने चुनाव चिह्न ‘लौरो’ रहेको छ। यही चिह्नबाट २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए।
कुलमानसँगको भेटपछि बालेनले नेपाली कांग्रेसका निवर्तमान सांसद सुनील शर्मासँग छलफल गरे। त्यसपछि उनको भेट्ने सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थिए। सोमबार राति लामिछानेसँग भएको ‘वान अन वान’ भेटपछि नै बालेनले राजनीतिक भेटवार्तालाई तीव्र पारेका हुन्।
सो भेटमा लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउने प्रस्ताव गरेको बताइए पनि ठोस सहमति नजुटेपछि बालेन आफ्नो तर्फबाट छुट्टै राजनीतिक समीकरण बनाउन सक्रिय भएको उनी निकटहरूको भनाइ छ। यही प्रस्तावबारे ‘निर्णायक’ वार्ता गर्न बालेनले रविलाई कुपण्डोल बोलाएका थिए। बिहीबारको भेट सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको स्रोतले जनाएको छ।
रविपछि निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंह बालेनलाई भेट्न पुगे। अमरेश र बालेनबीच यो दोस्रो भेट हो। केही समयअघि बालेनका आलोचक रहेका अमरेशले भेटपछि अझै केही चरणको छलफलपछि निष्कर्षमा पुग्ने बताएका छन्।
त्यसपछि रास्वपाका पूर्वसांसद शिशिर खनालसँग बालेनको भेट भयो। खनालले यसअघि सार्वजनिक रूपमा रास्वपाले बालेनलाई पनि प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा हेर्न सक्ने बताएका थिए।
यसपछि बालेनले रक्षा बम, पुरुषोत्तम यादव, युजन राजभण्डारी, रोहनराज दंगाल, जेम्स कार्की, सुदन गुरुङलगायत जेनजी प्रतिनिधिसँग लामो छलफल गरे। भेटमा बालेनले आफूहरूले ‘राजनीतिको नयाँ अध्याय’ सुरु गरेको र सबै वैकल्पिक शक्ति एकजुट हुनुपर्ने धारणा राखेको जेनजी अगुवाहरूले बताएका छन्। जेनजी समूहबाट २५ वर्ष पूरा भएकालाई उम्मेदवार बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।
जेनजीसँगको छलफलपछि बालेनले प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटवार्ता गरे। भट्टराईले नयाँ र वैकल्पिक शक्ति एकजुट गर्न बालेनले समन्वयकारी भूमिका खेल्नुपर्ने सुझाव दिएका छन्। त्यसपछि बालेनले हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँग पनि भेट गरेका थिए।
यी सबै भेटवार्ताबाट बालेनले आफू संसदीय राजनीतिमा प्रवेश गरेको स्पष्ट संकेत मात्र दिएका छैनन्, सबै नयाँ शक्ति मिलेर एकीकृत रूपमा चुनाव लड्न आह्वानसमेत गरेका छन्। बालेनले आफू एक क्षेत्रमा मात्र उठेर परिवर्तन सम्भव नहुने भन्दै बाँकी १६४ क्षेत्रमा उम्मेदवार चाहिने र समानुपातिक सिटका लागि पनि सक्षम व्यक्ति आवश्यक रहेको धारणा राख्दै आएका छन्।
समानुपातिक बन्दसूची बुझाउने मिति नजिकिँदै गएकाले पनि बालेनले छलफललाई तीव्रता दिएको बताइएको छ। देश विकास पार्टीले पुस १३ र १४ गतेभित्र समानुपातिक सूची बुझाउने तयारी गरिरहेको छ भने शनिबारसम्म ११० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने योजना रहेको स्रोतले जनाएको छ।
यसअघि पनि बालेनले चन्द्र भण्डारी, रेशम चौधरी, ज्ञानेन्द्र शाही, सिके राउत, डा. भगवान कोइरालालगायत नेतासँग छलफल गरिसकेका छन्।
बालेनको संरक्षणमा ‘लौरो’ चुनाव चिह्नसहित दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ। उक्त दलको नाम ‘देश विकास पार्टी’ रहेको छ।