शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालाजुमा टिपरले मोटरसाइकल ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

बिहिबार, पुष १० २०८२

काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका वडा नं. १६, बालाजु बाइसधारा मन्दिर नजिक राति करिब साढे १० बजे बा.प्र–०१–००६ख ३४५४ नम्बरको टिपरले लु.५९प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ठक्करका कारण मोटरसाइकलमा सवार अर्घाखाँचीको मालारानी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय सागर खड्काको मृत्यु भएको हो। उनलाई तत्काल उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो, जहाँ राति करिब ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा अर्घाखाँची सन्धिखर्क नगरपालिका घर भई हाल बालाजु–१६ हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएका छन्। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनी शरीरका विभिन्न भागमा चोटले बोल्न नसक्ने अवस्थामा रहेको बताएको छ।

दुर्घटनापछि टिपर चालक फरार भए पनि पछि बालाजु प्रहरीले टिपर नियन्त्रणमा लिएको छ।