झापा । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको घटनास्थलमै मृत्यु भएको हो।
घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा पुगेको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।