काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन्।
आयोगलाई दिइने बयानको विषयमा परामर्श गर्न लेखक आज (बुधबार) सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित आफ्नो भाडाको निवास जाँदै छन्। महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेका छन्, तर समय भने खुलाइएको छैन। ‘छलफलका लागि आउनुहुन्छ,’ स्रोतले बतायाे।
यसअघि नेता लेखकले अनलाइनखबरसँग आयोगले बयान दिन बोलाएको विषयमा ‘सल्लाह’ लिइरहेको प्रतिक्रिया दिएका थिए। आयोगले बयानका लागि औपचारिक पत्र पठाएको जानकारी उनले पाएका छैनन्।
जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, तत्कालीन गृहमन्त्री लेखकको बयान सकिएलगत्तै तत्कालीन प्रधानमन्त्रीको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखिने छ। ‘हामी पालैपालो उहाँहरुसँग कुरा गर्ने तयारीमा छौँ, पहिला तत्कालीन मन्त्रीज्यूसँग कुरा हुन्छ, त्यसपछि तत्कालीन प्रधानमन्त्रीलाई पत्र लेखिन्छ,’ उनले भने।
आयोगले छिट्टै जाँचबुझको काम सक्ने तयारी गरेको बताउँदै प्रवक्ता शर्माले भने, ‘सत्यतथ्य जे हो, हामीले त्यही जानकारी सरकारलाई दिने हो, त्यसका लागि तत्कालीन जिम्मेवार पदाधिकारीले सहयोग गर्दै आउनुभएको छ। फेरि अन्य पदाधिकारीज्यूहरुले पनि त्यसरी नै सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।’