काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ । अत्यावश्यक परेकालाई तत्कालै राहदानी उपलब्ध गराइने विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार हालसम्म कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ । यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरिएको थियो ।
हाल विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति गरिरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीलाई राहदानी उपलब्ध गराइने विभागको भनाइ छ ।
गत मंसिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीलाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ । त्यसपछि आवेदन दिएका सेवाग्राहीलाई क्रमशः राहदानी वितरण गरिने विभागले जनाएको छ ।