काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध १४३ सांसदको हस्ताक्षरसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी तथा एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेको रिट मंगलबार दर्ता भएसँगै सर्वोच्चले त्यसको पेसी पनि तोकेको छ ।
पूर्व–महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले रिट दर्ता भई बुधबारका लागि पेसी तोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार एउटै विषयसँग सम्बन्धित रिटहरूलाई एकैसाथ राखेर सुनुवाइ गर्ने कानुनी प्रावधानअनुसार पेसी तोकिएको हो ।
रिटमा नेपाली कांग्रेसका ६५, नेकपा एमालेका ७५, जनता समाजवादी पार्टीका दुई, जनमत पार्टीका एक तथा एक स्वतन्त्र सांसद गरी जम्मा १४३ जनाको हस्ताक्षर रहेको छ । यसअघि कांग्रेस र एमालेले छुट्टाछुट्टै दायर गरेका रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
मंगलबार दर्ता गरिएको पूरक रिटमा कांग्रेसका ६५ सहित अन्य दल र स्वतन्त्र गरी ६८ सांसदको हस्ताक्षर समावेश गरिएको छ । यसअघि कांग्रेसका आठ सांसदले मंसिर २३ गते रिट दर्ता गरेका थिए भने मंगलबार थप ५७ सांसदले हस्ताक्षर दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा पुनःस्थापनाको मागमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि साथ दिएका छन् । हस्ताक्षर गर्नेमा जसपाकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन् ।
एमालेका ७५ सांसदले यसअघि नै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका थिए । एमालेले संसदीय दलको निर्णयका आधारमा संस्थागत रूपमा रिट दायर गरेको भए पनि कांग्रेसको हकमा भने व्यक्तिगत सांसदहरूको हस्ताक्षरमार्फत प्रक्रिया अघि बढाइएको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा हाल १४३ सांसदको हस्ताक्षर पुगेपछि पुनःस्थापनाको माग गर्ने बहुमत देखिएको छ । कांग्रेस र एमालेका नेताहरूले सर्वोच्चलाई फैसला गर्न सहज होस् भन्ने उद्देश्यले बहुमत सांसदको हस्ताक्षर बुझाइएको बताएका छन् ।
रिटमा गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनपछि पूर्व–प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै उक्त नियुक्ति खारेज गरी संसद्भित्रैबाट प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन परमादेश माग गरिएको छ ।