काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी हुन बोलाइएको छ ।
बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
१५ औँ महाधिवेशनका लागि पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पूरा हुन नसकेपछि कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ । कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता टुंगो नलाग्नु लगायतका कारण कार्यतालिका प्रभावित भएपछि परिवर्तनको तयारी थालिएको हो ।
यसबीच संस्थापन पक्षले आगामी माघ २ गते वडा अधिवेशन गर्नुपर्ने धारणा राखेको छ । तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ गते नै वडा अधिवेशन हुनुपर्ने अडान लिइरहेका स्रोतले जनाएको छ ।
यसअघि १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।