काठमाडौँ । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अनुकूल वातावरण बनाउने विषयमा सरकार र प्रमुख राजनीतिक दलबीच समझदारी भएको छ ।
मङ्गलबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा यस्तो समझदारी बनेको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण थप सुदृढ बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि भएको छ ।
छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै त्यसको निकासका रूपमा निर्वाचन घोषणा गरिएको बताएका थिए । “यो गाम्भीर्यलाई आत्मसात गर्दै निर्वाचन सफल बनाउने दिशामा लाग्नु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपतिको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको समाधानका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको धारणा राख्दै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।