काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार उनीहरूलाई २–३ दिनको म्याद तोकेर बयानका लागि औपचारिक पत्र पठाइनेछ। शर्माले भने, “हामी म्याद दिएर चिठी पठाउँछौँ, एक–दुई दिनभित्र पत्र पुग्छ।”
यसअघि पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगलाई ‘बोगस’ भन्दै आलोचना गर्दै आएका छन्। उनले आयोगमा बयान नदिने बताएका थिए। आइतबार मात्रै एक टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले आफू बयान दिन नजाने र त्यसबापत पक्राउ गर्नुपरे आफू तयार रहेको प्रतिक्रिया दिएका थिए।
आयोगले यसअघि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालसहित तत्कालिन सुरक्षा प्रमुखहरूसँग बयान लिइसकेको छ।