काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा आफ्नै निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि तत्काल कडा कारबाहीको माग गरेकी छन् ।
सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेन–जी आन्दोलनका अवोध पक्षधरहरूले देशलाई नष्ट गर्ने प्रयास गरेको बताइन्।
उनले भनिन्, “मैले किताबमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर। त्यो अनुभव मैले आफैँ भोगें। जेन–जी भाइबहिनीहरूको अवोधपनको मुखुण्डो ओढेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई सरकारले छिटै पहिचान गरी कारबाही गर्नुपर्छ। मेरो यही माग हो।”
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको उल्लेख गरे। उनले भने, “हामीले अझ धेरै गर्न बाँकी नै छ। त्यो पनि उपचारको प्रक्रिया हो। तर अब हाम्रो घरसहित सबैकुरा जलाइदिएपछि उपचारमा समस्या भइरहेको छ। कसरी उपचार गर्छौं भन्ने प्रश्न अझै बाँकी छ।”
गत भदौमा डल्लुस्थित खनाल दम्पतीको घरमा जेन–जी प्रदर्शनका क्रममा आगजनी भएको थियो। उक्त घटनामा रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी थिइन् भने घर पूर्ण रूपमा क्षति भएको थियो। उपचारका लागि उनलाई भारत लगिएको थियो र हाल स्वास्थ्य क्रमिक रूपमा सुधारोन्मुख रहेको बताइएको छ।