काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन्। मंगलबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आयोजना गरिएको हो।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा उत्तर विधायिकी परीक्षणसम्बन्धी विषयमा छलफल गरिने कार्यसूची तय गरिएको छ।
यस्तै, दिउँसो २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कार्य–कारबाही, विद्यमान समस्या तथा चुनौती, भावी कार्ययोजना, साथै राष्ट्रिय गौरवका आयोजना सञ्चालनका क्रममा आवश्यक पर्ने इआईए (पर्यावरणीय प्रभाव मूल्याङ्कन) को सहजीकरणसम्बन्धी विषयमा छलफल गरिनेछ।