काठमाडौं । डोटी, बडीकेदार गाउँपालिका वडा नं. २ मा रहेको समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिमा भएको करोडौंको हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साेमबार आरोपपत्र दायर गरेको छ।
अख्तियारले जनाएको छ कि समितिको अध्यक्ष पदम बहादुर पुन मगर, सचिव तारा देवी साउद र कोषाध्यक्ष दिल बहादुर साउद क्षेत्रीले आफ्नै मिलेमतोमा रू. ३,०१,९९६ (तीन लाख एक हजार नौ सय छयानब्बे) हिनामिना गरेको ठहर गरेको छ। आरोप अनुसार समितिले वृक्षारोपणका लागि रु. ६७,५०० खर्च गरेको भनी नक्कली बिल तयार गरी रकम हिनामिना गरेको, र सिलाई कटाई तालिमको नाममा ८ जना सहभागीलाई भुक्तानी दिएको देखिए पनि तालिम र सडक निर्माणको काम एकै समयमा सम्भव नभएको अवस्थामा पनि डोर हाजिरी र भुक्तानी अभिलेखमा नक्कली कायम गरिएको छ।
अख्तियारको अनुसन्धानमा, समाज कल्याण सामुदायिक वन उपभोक्ता समितिले सञ्चालन गरेको नर्सरी र वृक्षारोपण कार्यक्रममा खर्च भएको रकमको प्रमाण तथा कार्यान्वयन नभएको देखिएको छ। साथै, बछैन डाडादेखि सैनेरीसम्मको घोरेटो बाटो निर्माण कार्यमा तालिममा सहभागी व्यक्तिहरूको पनि संलग्नता देखाउने नक्कली डोर हाजिरी तयार गरी रकम भुक्तानी गरिएको पुष्टि भएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम, उक्त कार्य कसूरजन्य रहेको ठहर गर्दै सम्बन्धित तीन जना कार्यकारी सदस्यमाथि आजै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।