आग्रहप्रेरित कटाक्ष र अनावश्यक प्रतिक्रिया पार्टी र आन्दोलनका लागि नोक्सानदायी हुने चेतावनी
काठमाडौं । नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष तथा ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले महाधिवेशनपछिको सामान्य विदाइ भेटलाई लिएर अनावश्यक तरंग नबनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै उनले विगतका तीतामिठा अनुभवका कारण पार्टीभित्र अनावश्यक आशंका र त्रास सिर्जना हुन नदिन सबै सचेत हुनुपर्ने बताएका छन्।
पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको सन्दर्भ उल्लेख गर्दै नेतृत्व चयनका क्रममा भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहबीच भएको सामान्य छलफललाई लिएर सार्वजनिक भइरहेका प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएका छन्। विगतमा पार्टीभित्र भएका बहस र विवादले नकारात्मक तथा नोक्सानदायी परिणाम भोग्नुपरेको स्मरण गराउँदै उनले अब त्यस्तो दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति नहुने र हुन नदिइने स्पष्ट पारेका छन्।
उनले महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कुनै गतिविधि नहुने उल्लेख गर्दै भनेका छन्, “संस्थागत निर्णय र निर्वाचित नेतृत्वको सम्मान गर्नु सबैको कर्तव्य हो।” तर, आत्मसमर्पण होइन, आत्मसम्मान खोज्नु नेता तथा कार्यकर्ताको स्वाभाविक अपेक्षा भएको उनको भनाइ छ। काखा–पाखा गर्ने व्यवहार स्वीकार्य नहुने र त्यस्तो हुँदा असहमति वा आलोचना स्वाभाविक हुने उनले बताएका छन्।
पोखरेलले यसपटक नेतृत्व चयनमा सर्वसम्मति नहुनुका कारणहरूबारे पनि संकेत गरेका छन्। उनका अनुसार नेतृत्व तहबाट सर्वसम्मतिको लागि ठोस पहल नभएकै कारण प्रतिस्पर्धा भएको हो। समूहगत प्रतिस्पर्धाका क्रममा पार्टी जीवनको लोकतान्त्रिकरणसँग सम्बन्धित नीतिगत मुद्दाहरू ‘अवधारणा पत्र’ मार्फत सार्वजनिक गरिएका र बन्दसत्रमा समेत प्रस्तुत गरिएका थिए।
महाधिवेशनले निष्कर्ष दिइसकेको उल्लेख गर्दै उनले त्यसको पालना सबैले गर्नुपर्ने बताए। तर नेतृत्वबाट समान र सम्मानजनक व्यवहार अपेक्षित रहेको भन्दै त्यस्तो हुन नसके अप्रिय र नोक्सानदायी परिणाम भोग्नुपर्ने अवस्थाबाट बच्न सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।
पोखरेलले पार्टी रूपान्तरणका लागि निरन्तर बहस, छलफल, विधि र प्रक्रियाअनुसार भएका संस्थागत निर्णयहरूको पालना, काखा–पाखा नहुने व्यवहार र विभाजनको दृढ विरोध अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्। आग्रहप्रेरित कटाक्ष र अनावश्यक प्रतिक्रिया पार्टी र आन्दोलनका लागि नोक्सानदायी हुने भन्दै उनले सबैलाई संयमित हुन आग्रह गरेका छन्।
अन्त्यमा उनले विधि र प्रक्रियाअनुसार गरिएका निर्णयहरूको निशर्त पालना, पार्टी एकतालाई मजबुत बनाउने व्यवहार, विभाजनविरुद्ध कडा अडान र कार्यकर्ताको स्वाभिमान तथा आत्मसम्मानको संरक्षणमार्फत मात्रै नेकपा एमाले निर्णायक राष्ट्रिय शक्ति बन्न सक्ने धारणा व्यक्त गरेका छन्।