काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका सबै कमिटीलाई आह्वान गरेको छ।
पार्टी नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित र प्रभावकारी बनाउन मातहतका कमिटीलाई आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन दिएको हो। बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिको संयुक्त आयोजनामा हुने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत तथा सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने सभामा समाचार सङ्कलन र सम्प्रेषणका लागि आउने सञ्चारकर्मीसँग आवश्यक समन्वय समाजवादी प्रेस सङ्गठन र प्रेस सेन्टर नेपालले गर्ने जनाइएको छ। उपत्यका र बागमती प्रदेश समितिले नेताहरूको सत्कारलगायत अन्य आवश्यक व्यवस्थापनको जिम्मेवारी लिनेछन्।
हालै सम्पन्न वाम शक्तिबीचको एकतापछि देशका विभिन्न प्रदेश तथा जिल्लामा आयोजना गरिएका एकता सन्देश सभाले जनतामा उत्साह थपेको उल्लेख गर्दै सभामा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे शीर्ष नेताहरूले सहभागीलाई जानकारी गराउने कार्यसूची रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।