शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमाले ११औँ महाधिवेशनबाट २४ बुँदे राजनीतिक प्रस्ताव पारित

शुक्रबार, पुष ४ २०८२

काठमाडौँ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषय समेटिएको २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ। महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।

पारित प्रस्तावमा मुलुकलाई संविधानको लिकमा फर्काउने, संसद् पुनःस्थापना, लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने विषय समावेश छन्। भक्तपुरको सल्लाघारीमा मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रसँगै आज महाधिवेशनको औपचारिक समापन गरिएको हो।

समापनसत्रमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले ‘पुराना पार्टी सकिए’ भन्ने गलत भाष्यलाई चिरेको उल्लेख गर्दै एमाले अब विकास, सुशासन, समृद्धि र संसद् पुनःस्थापनाको मार्गमा दृढताका साथ अघि बढ्ने उद्घोष गर्नुभयो।

महाधिवेशनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक–आर्थिक रुपान्तरणका लागि भएका आन्दोलन, क्रान्ति र युद्धमा जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदनकुमार भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसहित विभिन्न आन्दोलनका अग्रज व्यक्तित्वहरूप्रति श्रद्धासुमन व्यक्त गरिएको छ।

गत भदौ २३ र २४ गते भएका घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै एमालेले मुलुक राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र विकास–समृद्धिको बाटोबाट विचलित हुँदै गएको निष्कर्ष निकालेको छ। महाधिवेशनले उक्त अवस्थाबाट देशलाई लोकतान्त्रिक पद्धति र राजनीतिक स्थायित्वको मार्गमा फर्काउने सङ्कल्प गरेको छ।

भदौ २३ गते सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै भएको नवयुवाको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति एमालेले दुःख व्यक्त गरेको छ। शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको ठहर गर्दै पार्टीले स्वतन्त्र र निष्पक्ष छानबिन, तथ्य सार्वजनिक गर्ने र दोषीलाई कारबाहीको माग गरेको छ। भदौ २४ गते भएको सुनियोजित हिंसा र देश दोहनको घटनाको एमालेले कडा निन्दा गरेको छ।

महाधिवेशनले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएको छ। साथै एमाले निर्वाचनबाट कहिल्यै नभाग्ने, ताजा जनादेशका लागि जनतामाझ जाने र प्रतिस्पर्धामा सहभागी हुने आफ्नो मान्यतामा अविचलित रहेको स्पष्ट गरेको छ।

सरकारसँग लोकतन्त्रका आधारस्तम्भ दलहरूसँग सार्थक संवाद, सहकार्य र परामर्श गर्न माग गर्दै एमालेले प्रहरीबाट लुटिएका हतियार फिर्ता ल्याउन, फरार कैदीलाई पुनः जेलमा फर्काउन र शान्ति–सुरक्षाको अवस्था मजबुत बनाउन ठोस कदम चाल्न आग्रह गरेको छ। प्रतिनिधिसभा पुनःस्थापनाको माग पनि प्रस्तावमा समेटिएको छ।

राष्ट्रियता, लोकतन्त्र र जनआन्दोलनबाट प्राप्त उपलब्धि सङ्कटमा परेको ठहर गर्दै महाधिवेशनले संविधानका पक्षधर सबै शक्ति, राजनीतिक दल, नागरिक समाज र आम जनतालाई आपसी संवाद र सहकार्यका साथ लोकतान्त्रिक मार्गमा अघि बढ्न आह्वान गरेको छ।